तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ: कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने बताएका छन ।
“तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ,” मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने ।
विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म विद्युत्को माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युत्को माग उच्च हुने गरेको उनले बताए ।
यो वर्ष भदौमा एक हजार ६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम एक हजार ५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताए । अहिले दुई हजार मेगावाटभन्दा बढी जडित क्षमता रहेकोमा ‘अपरेसन’मा करिब एक हजार ६०० मेगावाट मात्र रहेको उनले जानकारी दिए ।