मन्त्री आलेको पहलमा विमानस्थलमा अब १२ सयमै आरटी-पीसीआर
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण (आरटी–पीसीआर) गरेबापत २ हजार रुपैयाँ लिँदै आएका प्रयोगशालाले अब १२ सय रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले आइतबार विमानस्थल परिसरभित्र पीसीआरका लागि नमूना संकलन गर्दै आएका स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्र लेखी आइतबारै लागू हुनेगरी यात्रुबाट १२ सय रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएका छन् ।
अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकाशं मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटीभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घन्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।
यसका लागि विमानस्थलको गोल्डनगेटसँगकै आइएमएस विल्डिङमा ८ वटा प्रयोगशालाले नमूना संकलन गर्दै आएका छन् । ती प्रयोगशालाले श्रम गन्तव्य लगायतका मुलुकमा जाने नेपालीहरुबाट मनपरी शुल्क लिएको गुनासो अत्यधिक आएपछि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीले छड्के अनुगमन गरेका थिए । त्यसक्रममा विदेशिने प्रत्येक यात्रुहरुबाट र्यापिड पीसीआरका लागि दुई हजार रुपैयाँ लिने गरेको खुलेको थियो ।
आलेले प्रयोगशालामा यात्रुहरुको अत्यधिक भिडमा यात्रुहरुसँग पीसीआर गरेबापत कति शुल्क बुझाए भनी सोधपुछ गरेका थिए । त्यसक्रममा अधिकांश प्रयोगशालाले प्रतियात्रु २ हजार रुपैयाँ लिइएको पाइएको थियो । प्राधिकरणले ती प्रयोगशालालाई सोही परीक्षणका लागि वीर अस्पतालले १ हजार २० रुपैयाँमात्रै लिइरहेको जनाउँदै १२ सय रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएको छ । यसबारे अनुगमन गर्न विमानस्थल कार्यालयलाई भनिएको छ ।