सोलुखुम्बुमा नेपाल टेलिकमको अप्टिकल फाइबर
सोलुखुम्बु । नेपाल टेलिकमले सोलुखुम्बुमा अप्टिकल फाइबर लिङ्क स्थापना गरेको छ । योसँगै सोलुखुम्बुका स्थानीयले दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएको टेलिकमले जनाएको छ ।
टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर लिङ्कबाट जोडेको हो । समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई कात्तिक ११ बाट १० जीबीपीएस क्षमताको फाइबची लिङ्कबाट जोडिएको हो ।
रेडियो लिङ्कको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना भएपनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिङ्क सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिङ्कलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमले जनाएको छ ।
पत्ताले रिपिटरलाई फाइबरबाट लिङ्क गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिङ्कबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुने कम्पनीले जनाएको छ ।