एमाले पालिका अधिवेशन: बुद्धभूमिमा देवी बेल्वासेको दाबेदारी
बुद्धभूमि । नेकपा एमालेले मंगलबार देशभर पालिका अधिवेशन सम्पन्न गर्दै छ । यसैक्रममा कपिलवस्तुका स्थानीय तहहरुमा पनि पालिका अधिवेशन गर्न एमाले जुटेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पालिकामा नेतृत्व लिने आकांक्षी एमालेमा बढी देखिएका छन् । पार्टीको प्रभाव क्षेत्रका रुपमा रहेको बुद्धभूमिमा पनि नगर अध्यक्षको उम्मेदवार बढ्ने संकेत देखिएको छ ।
बुद्धभूमि नगरपालिकाको नगर कमिटी अध्यक्ष देवी बेल्वासेले पुनः नगर कमिटी अध्यक्षमा आफ्नो दाबेदारी रहने बताउनुभएको छ । अधिवेशनको पूर्व सन्ध्यामा मायादेवी अनलाइनसंग कुराकानी गर्दै नगर कमिटी अध्यक्ष बेल्वासेले एक पटक पुनः आफु जिम्मेवारी लिन तयार रहेको बताउनुभयो ।
२०४३ सालमा अनेरास्ववियु हुँदै विद्यार्थी राजनीतिमा होमिनु भएका बेल्वासे २०४६ सालको जनआन्दोलनमा अर्घाखाँची जिल्लाबाट सहभागी हुनु भएको थियो । अर्घाखाँचीको सिद्धारा गाविस ३ वर्रेका स्थायी बासिन्दा बेल्वासे २०४६ सालमा कपिलवस्तुको साबिक वरकुलपुर गाविसमा झर्नुभएको हो ।
बेल्वासे २०६४ साल देखि २ कार्यकलसम्म वरकुलपुर गाउँ कमिटी अध्यक्ष बन्नुभएको थियो । २०६६ सालमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको जिल्ला अध्यक्ष, २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, भृकुटी नगरपालिकाको पहिलो संगठन कमिटी अध्यक्ष, बुद्धबाटिका र भृकुटी नगरपालिका एकिकरण पछि जिल्ला कमिटी सचिवालय सदस्य हुँदै २०७७ सालमा बुद्धभूमि नगर कमिटी अध्यक्ष बन्नुभएको हो ।
बेल्वासेले जिल्ला सचिवालय छाडेर नगर कमिटीमा बसेर सिंगो नगरलाई रुपान्तरण गर्न आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । अधिवेशमा सर्वसम्मत हुन नसकेको मित्रवत ढङ्गले स्वस्थ प्रतिस्पर्धा गर्दै कार्यकर्ताबाट निर्वाचित हुनेपनि बेल्वासेको भनाई छ । अध्यक्षको उम्मेद्वाबाट आफु कुनैपनि हालतमा पछि नहट्ने उहाँको अडान छ ।