राष्ट्रिय युवा संघद्वारा अध्यादेशको विरोधमा प्रदर्शनस् दुई मिनेटमा नै तोड्यो प्रहरीको घेरा

२०७८ भाद्र २ गते, बुधबार

काठमाडौँ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा सडक प्रदर्शन गरेको छ ।

संघको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा अध्यादेशको विरुद्धमा सडक प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै संघले आज काठमाडौँको बानेश्वर, विजुलीबजार हुँदै पुन संघको केन्द्रीय कार्यालय अगाडीसम्म प्रदर्शन गरेको हो ।

परमादेशबाट बनेको सरकार नेपाली नागरिकको नभई देशी विदेशी तत्वहरुको स्वार्थको लागि भएको उल्लेख गर्दै संघका अध्यक्ष किरण पौडेलले वर्तमान सरकार नेपाली नागरिकको पक्षमा नरहेको जिकिर गर्नुभयो । मुलुकलाई स्थिरता तर्फ लैजानुपर्नेमा वर्तमान सरकारले व्यवस्थालाई नै ध्वस्त बनाउने गरी षड्यन्त्रकारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।

विकास र समृद्धिको नायक एमालेका अध्यक्ष केपी ओली रहेको उल्लेख गर्दै वर्तमान कांग्रेस, माओवादीलगायतका दलहरुको गठबन्धनको सरकारले देश र जनतालाई कुठाराधात गरेको भन्दै आक्रोस जनाउनुभयो । ओली नेतृत्वको सरकारले भारतसँग आँखामा आँखा जुधारएर नेपालको गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने क्रममा रहेको स्पष्ट पार्दै अध्यक्ष पौडेलले वर्तमान सरकारले नेपाली जनताको पक्षमा भारतविरुद्ध चुइक्क बोल्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

महाकाली नदीमा तुहिनबाट तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काटेर जयसिंह धामी वेपत्ता भएको विषयमा समेत सरकारले भारतसँग बोल्न नसकेको उल्लेख गर्दै अध्यक्ष पौडेलले वर्तमान सरकार कठपुतली मात्र भएको बताउनुभयो । एमालेको नेतृत्वको सरकारले २२ लाख भूमिहिन तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारीमा पुगेको अवस्थामा देउवा नेतृत्वको सरकारले भूमि समस्या समाधान सम्बन्धी आयोग विघटन गरी लाखौं गरिव जनतामाथि घन चलाएको बताउनुभयो ।

संघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । संघका कार्यकर्ताले प्रहरीको घेरालाई दुई मिनेटमा नै तोडी आफ्नो शान्तिपूर्ण आन्दोलन गरेका थिए । प्रहरीले बानेश्वरबाट विजुलीबजार जाने क्रममा आन्दोलनकारीलाई सर्भिर ट्याकको प्रयोग गर्न आग्रह गरेको थियो । तर संघका कार्यकर्ताले सर्भिस ट्याक साथै सडकको पुरै बिच भागलाई आफ्नो कब्जामा लिई आन्दोलन गरेका थिए । संघका कार्यकर्ताले सरकारले ल्याएको अध्यादेशलाई आगो लगाई जलाएका छन् ।

335 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal