आकाशे पानीका भरमा रोपाइँ

२०७८ भाद्र १ गते, मंगलवार

ओखलढुंगा । आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका अधिकांश किसानले यस वर्षको धान रोपाइँ ढिला सकाएका छन् ।

मूल फुट्नेगरी समयमै पानी नपरेको र सिँचाइको सुविधा नभएका स्थानमा साउनको अन्तसम्ममा आकाशे पानी सङ्कलन गरेर रोपाइँ गरिएको हो ।

जिल्लामा कूल चार हजार ४०३ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमै पानी नपर्नु र सबैतिर सिँचाइको सुविधा नहुँदा रोपाइँमा ढिलाइ भएको हो । ढिलो गरी रोपिएको धानबाट सोचेजस्तो उब्जनी नहुने केन्द्रका बाली विज्ञान संरक्षण अधिकृत गणेश अधिकारी खत्रीको भनाइ छ ।

धेरै धान रोपाइँ सिद्धिचरण नगरपालिकामा २१ प्रतिशत (९३२ हेक्टर) जमिनमा भएको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकामा चार दशमलव २९ प्रतिशत(१८९ हेक्टर) जमिनमा भएको छ ।

चिसङ्खुगढी गाउँपालिकाको ६८८ हेक्टर, मानेभञ्ज्याङको ३८६, मोलुङको ५९६, सुनकोशीको ५०८, चम्पादेवीको ५३८ र लिखुको ५६६ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

129 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal