गएराति १२ बजेदेखि लुम्बिनी प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य

२०७८ श्रावण १ गते, शुक्रबार

काठमाण्डाै । लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यराति अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गएराति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गर्नुभएको हो ।बजेट पारित गर्न नसकिने भएपछि लुम्बिनी प्रदेश सरकारले बजेट अधिवेशन नै अन्त्य गरेको हो ।

मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले गएराति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको हो । अब सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीवार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो । 

यसअघि हिजो बजेट पारित गर्न निर्णायार्थ पेस गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडेका थिए । बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।

छलफलका लागि सभामुखले आधा घण्टाको समय दिए पनि सत्तारुढ दल र विपक्षी गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।

81 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal