२९ गते देशभर काँग्रेस देखिने

२०७७ मंसिर २६ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सोमबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘कांग्रेस भन्ने पार्टी पनि छ र’ भन्दै आएको बेला गरिने आन्दोलन निर्णायक हुने पनि कांग्रेसले दाबी गरेको छ ।
मंसिर १७ गते तनहुँमा नै एक पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा १९ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पौडेल पक्राउसँगै सरकारका गलत गतिविधिका बारेमा आन्दोलन गर्ने निर्णय गरेको थियो । आन्दोलनका लागि कांग्रेसले आन्तरिक तयारी गरिरहेको छ । नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पूर्वमन्त्री, प्रतिनिधिसभामा मोरङ–२ बाट निर्वाचित सांसदसमेत रहेका पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई पार्टीले तनहुँ पठाएको बताए । तनहुँ रामचन्द्र पौडेलको गृहजिल्ला हो ।
कांग्रेसले आन्दोलनमा सबै भ्रातृ तथा शुभेच्छुक संघ संगठन पनि परिचालन गर्ने जनाएको छ । मंसिर २९ गते गर्ने तनहुँको आन्दोलनबाट सरकार थर्किने गुरुङले बताएका छन् ।
पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेपछि तनहुँ कांग्रेसले पनि आन्दोलनका लागि छलफल गर्न थालेको छ । नेता गुरुङले तनहुँको आन्दोलनलाई प्रभावकारी बनाउन वडा तहसम्म दिनैपिच्छे छलफल गरिँदै आएको जनाए । ‘हामी हाम्रा वरिष्ठ नेता पक्राउको विरोधमा हिजो पनि लागेका थियौं र आगामी दिनमा पनि सरकारको रवैयाको प्रतिकार गर्छौं’ उनले भने ‘ हाम्रो यो आन्दोलनले सरकार सच्चिने छ भन्नेमा विश्वस्त छौं, त्यति गर्दा पनि सरकारले टेरेन भने अर्को कदम चाल्नुपर्छ ।’ उनले मंगलबार पनि बन्दीपुर गाउँपालिकामा छलफल गरेको जनाए ।
मंगलबार प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा पनि कांग्रेसले सरकारको गतिविधिका कारण नै देश संकटमा परेको र नागरिकहरु सडकमा आएको जनाएको थियो ।

316 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal